काष्ठमण्डप पुनर्निर्माण अभियान

Kasthamandap > Uncategorized > काष्ठमण्डप पुनर्निर्माण अभियान -->

म संस्कृतिविद् होइन। पुरातत्वविद् पनि होइन। तर, यो काठमाडौं सहर संस्कृतिमा यति धनी छ, यहाँ बस्नेहरू संस्कृतिविद् नभए पनि यहाँको संस्कृतिले असर पारेकै हुन्छ। पुरातत्वविद् नभए पनि यहाँ रहेका पुरातात्विक सम्पदाको प्रभावबाट मुक्त रहेर बस्नै सक्दैनन्। म यहाँ काठमाडौंका नेवारहरूको मात्र कुरा गरिरहेको छैन, यहाँ बसोबास गर्ने हिमाल, पहाड, तराई जहाँका भए पनि अलि अलि काठमाडौंको संस्कृति र सम्पदाबारे थाहा भइहाल्छ।

काठमाडौं एक अद्भूत सभ्यताको स्थल हो। मैले केही वर्षअघि जापानको टेलिभिजन च्यानल ‘एनएचके’ ले निर्माण गरेको एउटा वृत्तचित्र हेरेको थिएँ– संसारका चार प्राचीन सहरका बारेमा बनाइएको। त्यसमा पहिलो जकार्ता थियो, दोस्रो कायरो, तेस्रो वनारस, चौथो कुन होला?

हाम्रो काठमाडौं।

त्यो वृत्तचित्रले आज पनि मेरो छाती ढक्क फुलेर आउँछ। जापानको राष्ट्रिय टेलिभिजन च्यानलले संसारकै चारवटा प्राचीन सहरको सूचीमा काठमाडौंलाई पनि छान्यो। यो आफैंमा चानचुने कुरा होइन। यसले हाम्रो यो सहर संस्कृतिमा कति धनी छ भन्ने देखाउँछ। त्यसैको प्रभावले हो, काठमाडौंका बासिन्दा त यहाँको संस्कृतिमा चुर्लुम्मै डुब्ने भइहाले, कोही दुई–चार महिना डुल्न मात्र आएका भए पनि उसलाई यहाँको संस्कृतिले छोएकै हुन्छ।

अब म काठमाडौंका केही विशेषताबारे चर्चा गर्न चाहन्छु।

संसारका धेरै ठाउँमा लोप भइसकेका पौराणिक सभ्यताका अंश हाम्रो काठमाडौंमा जीवित छ। केहीअघि म इन्द्रचोकको आकाश भैरवमा भजन सुन्न गएको थिएँ। भजन राति साढे सात बजेसम्म चल्यो। मलाई सबभन्दा अचम्म के लाग्यो भने, त्यो भजन मैथिली र नेवारीमा थियो।

पहिला यो क्षेत्रमा चलनचल्तीका भाषा भनेकै तीनवटा मात्र थिए– संस्कृत, मैथिली र नेवारी। नेपाली भाषा त धेरै पछि आएको हो। यसको मतलब मैथिली र नेवारी भाषाको त्यो भजन कम्तीमा तीन–चार सय वर्ष पुरानो थियो। कस्तो अचम्म, तीन–चार सय वर्षदेखि अहिलेसम्म लगातार रूपमा चल्दै आएको संस्कृति! त्यसमाथि भजन सुन्न आउने मान्छेको विविधता हेर्नुस्। त्यहाँ काठमाडौंका नेवार मात्र थिएनन्, पहाडी पनि थिए र मधेसका पनि थिए। सबै ठाउँबाट थरीथरीका मान्छे जम्मा भएका थिए। हो, काठमाडौं त्यस्तो सहर हो।

यसको अर्को विशेषता के भने, यहाँ मूर्त वा अमूर्त संस्कृति र सभ्यताको भण्डार छ। यी दुवैखाले संस्कृतिलाई हामी जात्रा र चाडहरूमा देख्छौं, सुन्छौं र अनुभव गर्छौं। मच्छिन्द्रनाथको जात्रा होस् या भोटोजात्रा होस् या भर्खरै सकिएको बिस्केट जात्रा। ती जात्रामा हामी पौराणिक संस्कृतिको झलक देख्छौं पनि, सुन्छौं पनि र अनुभव पनि गर्छौं।

यहाँका मूर्त सम्पदाको भव्य र सुन्दर बनावटले त हामीलाई गौरव नै महशुस गराउँछ। कति विज्ञहरूले यो पगोडा शैली काठमाडौंबाटै सुरु भएको होला भन्छन्। यस्तो सुन्दा पनि हामी गर्वले प्रफुल्लित हुन्छौं।

काठमाडौंमा गुठीको जुन व्यवस्था चलिआएको छ, त्यो आफैंमा एकदमै परिस्कृत छ। हाम्रा अग्रजहरू ज्यादै ज्ञानी र विद्वान थिए। उनीहरूले सबै विचार गरेर नै मठ–मन्दिर, गुम्बाहरूको हेरचाह र सम्भारका लागि गुठीको व्यवस्था गरेका थिए। हाम्रो अमूर्त सम्पदाको निरन्तरताका लागि गुठीहरूले ठूलो भूमिका खेलेका छन्।

संस्कृतिविद् सत्यमोहन जोशीजीले एउटा घटना सुनाउनुभएको थियो। केही वर्षअघि काठमाडौंका अमूर्त संस्कृति र परम्परा कसरी जोगाएर राख्ने र त्यसलाई कसरी निरन्तरता दिने भनी सल्लाह दिन युनेस्कोबाट केही विज्ञहरू आएछन्। उनीहरू यहाँका विभिन्न ठाउँ घुमेछन्। मान्छेहरू भेटेछन्। जात्रा, चाडपर्व हेरेछन्। त्यही क्रममा हाम्रो रातो मच्छिन्द्रनाथको जात्रा देखेपछि उनीहरू चित खाएछन्। भनेछन्, ‘तपाईंहरूलाई सिकाउने होइन, बरु तपाईंहरूबाटै हामीले सिक्नुपर्ने पो रहेछ।’

त्यो रातो मच्छिन्द्रनाथको जात्रालाई सयौं वर्षदेखि आजसम्म निरन्तरता दिनमा त्यसमा आबद्ध गुठीहरूको ठूलो हात छ। त्यहाँ कसले के बनाउने, कसले के काम गर्ने सबै निर्क्यौल गुठीले नै गर्छन्। छुट्टाछुट्टै कामको जिम्मा छुट्टाछुट्टै गुठीहरूलाई छ। सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेका हुन्छन्। त्यसैले त त्यति पुरानो संस्कृति आजसम्म तलमाथि नभई निरन्तर रूपमा चल्दै आएको छ।

काठमाडौं उपत्यकामा गुठी व्यवस्थाको सुरुआत १ हजार ५ सय वर्षअघि नै भएको थियो भनिन्छ। यसको सुरुआत विक्रम सम्बत् ५१७ भन्दा अगाडि भइसकेको थियो भन्ने भनाइ छ। बरु १९९० सालदेखि गुठी व्यवस्था कम हुँदै गएको र २०१० देखि त प्रायः ठप्प नै हुन पुगेको धर्मप्रसाद गौतम बताउनुहुन्छ।

हामीकहाँ अनेकथरी गुठी छन्। माछालाई खुवाउने गुठी छ। परेवालाई खुवाउने गुठी छ। जात्रा चलाउने गुठी एउटा छ। खट बनाउने गुठी अर्को छ। मलाई लाग्छ, हाम्रा पुर्खाहरूले त्यति पहिले नै गुठीको अवधारणा विकास गर्नु र यहाँको संस्कृतिलाई त्यही गुठीबाट सञ्चालित गराउनुको उद्देश्य नै जनसहभागितामा जोड दिनु हो। हाम्रो संस्कृति र सभ्यतामा आमजनताको कस्तो सहभागिताको व्यवस्था हाम्रा पुर्खाहरूले गरेका थिए भन्ने गुठी व्यवस्थापनको अवधारणाले नै छर्लंग पार्छ। गुठी नभइदिएको भए हाम्रा कतिपय जात्राहरू त्यसै हराइसक्थे होलान्।

त्यति पौराणिक र पुरातात्विक महत्व बोकेका काठमाडौंका सम्पदाहरू २०७२ सालको भुइँचालोले क्षति पुगेका र धराशयी भएका छन्। भुइँचालो गएको दुई वर्षपछि पनि ती सम्पदा कसले बनाउने, कसरी बनाउने भन्नेमा अन्यौल देखिन्छ। कति ठाउँमा नगरपालिका तम्सिएको छ भने कति ठाउँमा विदेशी राष्ट्रसँग गुहार मागिएको छ। यसबीच हाम्रो धरोहर, हाम्रो सम्पदा काष्ठमण्डप बनाउन काठमाडौंबासी नै एकजुट भएर आएको खबरले सनसनी फैलिएको छ। हाम्रो सम्पदा हामी आफैं बनाउँछौं भन्ने दृढतासाथ जुन अभियान अघि बढेको छ, त्यो आफैंमा उत्साहजनक छ, प्रेरणादायी छ। यसले काठमाडौंभित्र मात्र होइन, बाहिर पनि एक किसिमको ऊर्जा दिइरहेको छ। काठमाडौंबासीलाई फेरि एकचोटि एकजुट हुने अवसर प्रदान गरेको छ।

हाम्रा यी सम्पदाको हेरचाहको जिम्मा सरकारले नै लिने भनेर पञ्चायत कालमा सयौं वर्षदेखि चलिआएको गुठी व्यवस्थालाई निस्क्रिय पार्ने काम भयो। यसले सयौं वर्षदेखिको निरन्तरता भत्कियो। हाम्रा सम्पदाहरू स्वामित्वविहीन हुन पुगे। यो मठ-मन्दिरको मात्र कुरा होइन। म त्रिचन्द्र कलेज जाँदा ‘यो कलेज कसको हो’ भनेर सोध्छु। जवाफ छैन। म त्यसलाई पनि स्वामित्वविहीन देख्छु। हाम्रा मठ-मन्दिर र सम्पदाको हालत त्यस्तै छ। गुठीले धान्दै आएको हेरचाहको जिम्मा सरकार आफूले लिन त लियो, तर त्यसपछि न गुठीहरू सक्रिय भए न त सरकारले नै खासै वास्ता गर्यो।

काठमाडौंमा सयौं वर्षदेखि चलिआएको सम्पदामा जनताको स्वामित्वको जुन परम्परा छ, त्यसलाई फेरि पुनर्स्थापित गर्ने अवसर २०७२ सालको भुइँचालोले दिएको छ। यो भुइँचालोले विनाश त धेरै गर्यो, तर यसले जनतालाई आफ्नो सम्पदाको स्वामित्व दाबी गर्ने मौका पनि दिएको छ। यहाँ स्वामित्व दाबी गर्ने भनेको त्यसमाथि रजाइँ गर्ने भनेको होइन। सम्पदा हाम्रो राष्ट्रिय धन हो, यो हामी र हामीपछि आउने सन्ततिको हो। त्यसैले, यसलाई पुनर्निर्माण गर्ने र पुनर्निर्माण सम्पन्न भइसकेपछि यसको हेरचाहमा पहरेदारी दिने भूमिका हामीले निर्वाह गर्नुपर्छ।

सम्पदा पुनर्निर्माणमा जनसहभागिताको धेरै महत्व छ। यसले ठेक्कापट्टाबाट आउने विकृतिहरूलाई रोक्छ। सम्पदा निर्माण गर्ने भनेको मैले आफ्नो घर बनाएजस्तो होइन। यसका धेरै आयाम हुन्छन्। पुनर्निर्माण क्रममा धेरै किसिमका विधि पालना गर्नुपर्ने हुन्छ। यसमा पौराणिक विधि, प्रविधि, निर्माण सामग्रीहरूको प्रयोग हुन्छ। हाम्रा कति निर्माणमा त तान्त्रिक विधिबाट पूजाआजासमेत गर्नुपर्छ। हामीले ठेक्कामा दियौं भने उनीहरूले काम चाँडो सिध्याउन, कम खर्चमा सिध्याउन त्यस्तो विधि पालना नगर्न सक्छन्। हाम्रो यो दुई वर्षको अनुभवले पनि यही भन्छ।

यो दुई वर्षमा कतिपय सम्पदा पुनर्निर्माण गर्दा माटो र ढुंगाको साटो कंक्रिट, सिमेन्ट प्रयोग भएको हामीले सुन्दै र देख्दै आएका छौं। पुरातत्वविद्हरूले यसमा प्रश्नसमेत उठाइसक्नुभएको छ। मौलिकता गुमेको देखेपछि कतिपय ठाउँमा पुनर्निर्माण कार्य रोकिएका पनि छन्। त्यसैले पनि सम्पदा पुनर्निर्माण जनसहभागितामै गर्नु अतिआवश्यक छ भन्ने मलाई लाग्छ।

यसका लागि मूलभूत कुरामा सम्झौता नगरी कहाँ–कति आधुनिक विधि र सामग्री प्रयोग गर्न सकिन्छ, त्यो विज्ञहरूले टुंगो लगाउने कुरा हो। पुरातात्विक पुनर्निर्माण कार्यान्वयनमा स्वीकार्य अन्तर्राष्ट्रिय मापदण्ड के हो, त्यो पनि विज्ञहरूले नै भन्ने कुरा हो। तर, नाफा कमाउने हेतुले उत्प्रेरित नभई जनसहभागिताबाटै सिकर्मी, डकर्मी जुटाएर हाम्रा यी पौराणिक भवनहरू पुनर्निर्माण गराउनुपर्छ। यसले निर्माण कार्यमा ठूलो बल र आड पुग्नेछ। अझ युवायुवतीको सहभागिताले त यसलाई फुर्ति र ऊर्जा पनि दिनेछ।

जनसहभागिता र युवायुवतीको सहभागिताको अर्को फाइदा भनेको पुनर्निर्माण सम्पन्न भएपछि ती सम्पदाको संरक्षण र सम्बर्द्धनमा उनीहरूको पहरेदारी निरन्तर रहनेछ। यति मात्र होइन, पुनर्निर्माणमा जनसहभागिता भनेको एक पिँढीलाई हाम्रो पौराणिक सम्पदा र संस्कृतिबारे साक्षात्कार गराउनु हो। उनीहरूलाई यसको महत्वबारे जागरुक तुल्याउनु हो।

विकसित राष्ट्रहरूमा त यस्ता पौराणिक महत्वका सम्पदाको संरक्षण जिम्मा राज्यले नै लिएको हुन्छ। हाम्रोजस्तो विकासोन्मुख देशमा पनि कुरा त त्यस्तै हो। तर, हामीकहाँ जनता अझ चनाखो र होसियार हुनुपर्छ। किनकि, हामीकहाँ यस्ता सम्पदा संरक्षणमा धेरैजसो राज्यले प्राथमिकता दिएको देखिँदैन।

अन्त्यमा, म यो जनसहभागितामा आधारित काष्ठमण्डप पुनर्निर्माण अभियानलाई लिएर उत्साहित छु। र, यसको सफलताको कामना गर्छु।

(त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा शिक्षाविद् केदारभक्त माथेमाले काष्ठमण्डप पुनर्निर्माण अभियान क्रममा शुक्रबार हनुमानढोका दरबारक्षेत्रमा आयोजित अन्तर्क्रियामा दिएको मन्तव्य। यही वैशाख १२ गते जीवित देवी कुमारीबाट आशीर्वाद ग्रहण गरेर पुनर्निर्माणको औपचारिक सुरुआत हुँदैछ। त्यही क्रममा पुनर्निर्माण प्राधिकरणसँग समझदारीपत्र हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ।)

Pin It

About the author

Nitu Vaidya

No description.Please update your profile. View Author Profile

Leave Comments