जनतासँग पैसा उठाएर काष्ठमण्डपको पुनर्निर्माण, १२ गते सार्वजानिक आह्वान

Kasthamandap > Uncategorized > जनतासँग पैसा उठाएर काष्ठमण्डपको पुनर्निर्माण, १२ गते सार्वजानिक आह्वान -->

काठमाडौं । भूकम्पले भत्किएको १३ सय वर्ष पुरानो ऐतिहासिक महत्वको काष्ठमण्डप जनतासँग पैसा उठाएर पुनर्निर्माण गरिने भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काष्ठमण्डप पुनर्निर्माण अभियानलाई जनतासँग पैसा उठाएर पुनर्निर्माण गर्न स्वीकृति दिएको हो । अब बस्ने मन्त्रिपरिषदको बैठकले यो निर्णयको अनुमोदन गर्नेछ ।

मन्त्रिपरिषदले स्वीकृति दिएकै दिन पुनर्निर्माण प्राधिकरण र काष्ठमण्डप पुनर्निर्माण अभियानबीच सैद्दान्तिक सहमति (एमओयू) मा हस्ताक्षर हुने प्राधिकरणका एक उच्च अधिकारीले जानकारी दिए ।

‘एमओयूको डकुमेन्ट तयार भइसकेको छ,’ ती अधिकारीले क्लिकमाण्डूसँग भने,– ‘यही बैशाख १२ गते ११ बजेर ५६ मिनेट जाँदा काष्ठमण्डप पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न सर्वसाधारणलाई आह्वान गरिनेछ ।’

एमओयूअनुसार काष्ठमण्डप पुनर्निर्माण अभियानले जनतासँग पैसा उठाएर काष्ठमण्डपको पुनर्निर्माण गर्ने र त्यसको अनुगमन प्राधिकरणले गर्ने छ ।

यो सँगै भूकम्प गएको २ वर्ष पुग्दा पनि पुनर्निर्माण हुन नसकेको काष्ठमण्डको पुनर्निर्माणले अब भने गति लिने भएको छ ।

स्थानीय बीरेन्द्रभक्त श्रेष्ठको संयोजकत्वमा काष्ठमण्डप पुनर्निर्माण अभियान सुरु भएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यलयमा ०७३ चैत ३० गते अभियान औपचारिकरुपमा दर्ता भइसकेको छ । अभियानको दर्ता नम्बर ८६८ हो ।

जनताको सहमागितामा गरिएको पुनर्निर्माण दीगो र विश्वासीलो हुने निष्कर्श निकाल्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

खर्च कति ?

यसअघि पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई काष्ठमण्डपको पुनर्निर्माण गर्ने जिम्मा दिएको थियो । महानगरले काष्ठमण्डपको पुनर्निर्माण गर्न १९ करोड रुपैयाँ खर्च लाग्ने जनाएको थियो । महानगरले टेन्डरसमेत निष्काशन गरेको थियो ।

टेन्डर सिस्टमबाट बनाउँदा जसले कम लागतमा बनाउने योजना पेस गर्छ उसैलाई ठेक्का दिनुपर्ने मान्यता छ । जसले गर्दा राम्रोसँग पुनर्निर्माण नहुने भन्दै काष्ठमण्डप पुनर्निर्माण अभियानले विरोध गर्दै आएको थियो ।

अब आम नेपालीहरुले सहयोग गरेको पैसाले काष्ठमण्डपको पुनर्निर्माण गरिने अभियानको तदर्थ समितिका सदस्य आलोक तुलाधरले जानकारी दिए ।

‘हामी बैशाख १२ गते ११:५६ बजे काष्ठमण्डप पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न आम जनतालाई अपिल गर्छौं,’ तुलाधरले क्लिकमाण्डूसँग भने,- ‘यसरी उठेको पैसाबाट पुनर्निर्माण गरिने छ ।’

पुरानो शैली र पुरानै सामाग्रीहरुको प्रयोग गरेपनि नयाँ टेक्नोलोजीमा काष्ठमण्डप बनाइने उनले जानकारी दिए ।

खर्च कति लाग्छ भनेर आफूहरुले अहिले भन्न नसके पनि महानगरले निकालेको बजेटभन्दा सस्तो दरमा बनाउन सकिने उनको भनाई थियो ।

१३ सय वर्ष पुरनो इतिहास
काष्ठमण्डपको १३ वर्ष लामो इतिहास छ । ८औं शताब्दीमा तान्त्रिक गुभाजु लिला बल्लभले काष्ठमण्डपको निर्माण गरेको इतिहासकारहरुले बताउँदै आएका छन् ।

८औं शताब्दीमा निर्माण गरिएको भन्ने तथ्य पत्ता लागेपनि बल्लभले नै बनाएका हुन् कि हैनन् भन्ने विषय भने अहिले पनि टुंगो लागेको छैन ।

बेलायको डुरान युनिभर्सिटीले सन् २०१५ को अक्टोबर र नोभेम्बरमा काष्ठमण्डपको जग खनेर बेलायत लगेर ल्याब परीक्षण गरेको थियो । ल्याब परीक्षणमा काष्ठमण्डप ८औं शताब्दीमा निर्माण भएको भन्ने पुष्टि भएको तुलाधरले जानकारी दिए ।

महत्व के ?
मण्डप भनेको सार्वजानि स्थान हो । काठैकाठको प्रयोग गरेर सार्वजानिक प्रयोगका लागि बनाइएको सामाजिक स्थल भएकाले काष्ठमण्डप नामाकरण गरिएको हुनसक्ने तुलाधरले बताए ।

नेवारी भाषामा काष्ठमण्डपलाई मोरु सतः भनिन्छ । मोरु भनेको त्यहाँको टोलको नाम हो भने सतः भनेको सार्वजानिक पार्टी-पौवा हो । जुन काठैकाडद्वार निर्मित भएको थियो । अझ एउटै रुखबाट निकालिएको काठबाट बनेको हो भन्ने प्राचिन किंबदन्ती छ ।

तुलाधरका अनुसार सयौं वर्षअघि काठमाडौंको बाटो हुँदै भारत र चीनसम्मको यात्रा गर्नेहरु काष्ठमण्डपमा बास बस्ने गरेको किम्बदन्ती छ ।

१६औं शताब्दीमा गोरखनाथको मूर्ति राखेपछि काष्ठमण्डपले धार्मिक महत्व पाएको हो ।

त्यसो त केही वर्षअघि सम्म अञ्जली मास्केले तिहारको भाई टिकाको दिन काष्ठमण्डपमा आएर टिका लगाउन चाहनेजतिलाई टिका लगाइ दिन्थिन् ।

पुरानै काठ पनि काम लाग्छन्
पुनर्निर्माण गर्दा काष्ठमण्डपमा कु(काठ मानिने सिसौ, चिलाउने लगायतका रुखका काठ प्रयोग गरिने छैन । बलियो हुने भएकाले सखुवा अर्थात सालकै काठ प्रयोग गरिने तुलाधरले बताए ।

पुनः प्रयोग गर्न मिल्ने काठहरु जाँच गरेर मात्रै प्रयोग गर्ने योजना पनि छ । प्राविधिक जाँच गरेर योग्य काठ फेरि काठहरु प्रयोग गरिनेछ । काम नलाग्ने काठ भने पुरा तत्व विभागले नै राख्नेछ ।

बसन्तपुर दरबार स्क्वायर परिसरमा रहेको काष्ठमण्डप ०७२ बैशाख ११ गतेको बिनासकारी भूकम्पले पूर्णरुपमा ध्यवस्त भएको थियो ।

Pin It

About the author

Nitu Vaidya

No description.Please update your profile. View Author Profile

Leave Comments